२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

राजमार्ग पछिल्लो अपडेट : मेची, तमोर करिडोरसहित यी सडक बन्द, १६ वटा एकतर्फी सञ्चालनमा

काठमाडौं । बाढी पहिरोका कारण मेची राजमार्ग, तमोर करिडोरसहित लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडक बन्द छन्।

सडक विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ।

यस्तै, तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माँझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड अवरुद्ध छ।

लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडक पनि अवरुद्ध छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले यो सडक अवरुद्ध भएको हो।

बेसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेसीसहर चामे सडक खण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर–२ स्यार्कु खोलाको काठे पुल निर्माण गरिँदैछ । यो ठाउँमा वैकल्पिक सडक मार्ग नहुँदा यातायात प्रभावित छ । अहिले १६ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

पाल्पाको तानसेन–रिडी, कोरला सडकको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर, चामे सडकखण्डको लमजुङमा, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिलेको मुडे, हाइटार र दोभानमा सडक एकतर्फी छ । पाल्पाको हिउँदे खोला, दैलेखको दहिखोलालगायत ठाउँमा पनि सडक एकतर्फी रहेको विभागले जनाएको छ ।

काठमाण्डौ जोड्ने मुख्य लाइफलाइनका रुपमा रहेको मुग्लिन–नारायणगढ सडकमा अहिले नियमित रुपमा गाडी चलिरहेका छन् ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस