२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वास्थ्य विज्ञानमा चमत्कार : सुँगुरको मिर्गौला प्रत्यारोपण सफल, बिरामी निको भएर घर फर्किए

२२ चैत, काठमाडौं । अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरको मिर्गौला सफल प्रत्यारोपण गरिएका एक जना बिरामी घर फर्केका छन्। अमेरिकाको मासाच्यूट्स जनरल अस्पतालमा २ साता अघि गरिएको ऐतिहासिक सर्जरी पश्चात् ६२ वर्षीय रिचार्ड रिक स्लेमन नाम गरेका ती बिरामी बुधवार घर फर्केका हुन।

यसअघि अनुवांशिक रूपमा परिमार्जन गरिएको सुँगुरबाट गरिएको अङ्ग प्रत्यारोपणका प्रयास असफल भएको थियो। सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना हो। तर पछिल्लो सफलतालाई वैज्ञानिकले ‘प्रत्यारोपणको क्षेत्रमा कोशेढुगा’ भनेका छन्। हार्भड विश्व विद्यालय अन्तर्गतको यो अस्पतालले विज्ञप्ति जारी गरेर प्रत्यारोपणको सफलताको बारेमा जानकारी दिएको हो।

मिर्गौला रोगी अमेरिकाको वेमाउथका बासिन्दा स्लेमनलाई चिकित्सकले ४ घण्टा लगाएर गत १६ मार्चमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए। चिकित्सकका अनुसार उनको मिर्गौलाले राम्रोसँग काम गर्न थालेको छ र उनलाई डायलासिसको कुनै आवश्यकता छैन। अस्पतालबाट घर फर्कँदै गर्दा जारी गरेको विज्ञप्तिमा स्लेमनले यो जीवनको सबैभन्दा खुसीकाे क्षण रहेका बताएका छन्। ‘डायलासिसको झन्झटबाट मुक्त भएर अब म आफ्ना परिवारजन, साथीभाइ र प्रियजनहरूसँग समय बिताउनेछु, उनले भनेका छन् । एक जना मृत दाताबाट उनले सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरेका थिए तर गत वर्ष सो मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकले सुँगुरको मिर्गौलाको विकल्प रोजेका थिए।

‘मलाई यो एक मात्र उपाय लाग्यो। तर प्रत्यारोपणको प्रतीक्षामा रहेका हजारौँको लागि यसले आशा जगाएको छ’, उनले भनेका छन्। क्याम्ब्रिजमा रहेको फर्मास्युटिकल कम्पनी इजेनेशिशले सुँगुरको मिर्गौलालाई अनुवांशिक रूपमा परिवर्तन गरेको थियो। यो प्रक्रियामा सुँगुरको मिर्गौलाका खराब जिनलाई निकालेर खास खास मानव जिन राखिएको थियो। सन् १९५४ मा पहिलो पटक एक जना मानिसको मिर्गौला अर्कोमा प्रत्यारोपण गरिएको अवस्था देखि पछिल्ला ५ वर्षमा अन्य जीवको अङ्ग प्रत्यारोपण गर्ने विषयमा भएका समग्र अनुसन्धान तथा प्रयासले यो प्रत्यारोपण सफल रहेको अस्पतालले जनाएको छ । जीवनलाई चुनौती दिने अवस्था भनेर अमेरिकाका फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन(एफडिए)ले यो अनुसन्धानलाई अनुमति दिएको थियो।

‘यो प्रविधिगत सफलताले मिर्गौलाको उपचारमा ठुलो फड्को मारेको छ’, स्लेमनको चिकित्सक विनफ्रेड विलियम्सले भनेका छन् । अमेरिकामा मात्र १ लाख बिरामीहरू मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन्। सन् २०२३ मा मात्र २३ हजार ५ सयले मिर्गौला प्रत्यारोपण गरेका थिए। अमेरिकामा मिर्गौला प्रत्यारोपणको पखाईमा रहेका १७ बिरामीको हरेक दिन मृत्यु हुने गरेको छ। सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरिएको यो पहिलो पटक भएपनि सुगुरका अन्य अङ्गको प्रत्यारोपणका हिसाबले यो पहिलो होइन। यसअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएका २ बिरामीको केही सातामै मृत्यु भएको थियो। एक बिरामीको हकमा उनको प्रतिरक्षा प्रणालीले सुँगुरको मुटुलाई अस्वीकार गरेको थियो। नदिन युसिफ/बिबिसी

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस