२०८२ पुष ८ गते मङ्गलवार | 2025 December 23rd Tuesday

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती

८ पौष , काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयांका, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति निर्वाण भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए। जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे ।

उनी किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झिन्छन् । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उनी सधैं सम्झिन्छन् र त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी संघको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भने ।

अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित भएको उनको बुझाइ छ । किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उनले गरेको योगदानको प्रचार थालेका छन् ।

“किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयोरु यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”, अध्यक्ष ढकालले भने ।

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आउभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस