सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका बेला भाग्ने क्रममा काठमाडौँमा दुई जना घाइते भएका छन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार बानेश्वरमा भाग्ने क्रममा उदयपुर त्रियुगा घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे घाइते भएका हुन्।
थिलिङ सडकपेटीमा लडेर घाइते भएका छन् भने गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार पूर्वी नेपालका केही जिल्लामा सामान्य घरहरू भत्किएको र केही व्यक्तिहरू सामान्य घाइते भएको खबर प्राप्त भए पनि ठूलो क्षति भएको विवरण आएको छैन।
भूकम्प आज बिहान २ बजेर ५१ मिनेटमा महसुस गरिएको थियो।

