२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

कोशीमा बेपत्ता सशस्त्र प्रहरी गोताखोरमध्ये एकको शव फेला, अर्काको खोजी जारी

काठमाडौं । सप्तरीको कोशी नदीमा बिहीबार उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार श्रीअन्तु गण इलाममा दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत जवान हरदेव राजबंशीको शव घटनास्थलबाट झन्डै ३ किलोमिटर दक्षिणमा शुक्रबार बिहान भेटिएको हो ।

उनीसँगै १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद बिहीबार दिउँसो ३:१० बजे बेपत्ता भएका थिए ।

मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यासका क्रममा ५६ जनाको टोली नदीमा खटिएको थियो । बेपत्ताको खोजीका लागि दन्तकाली तालिम शिक्षालय, नम्बर ६ गण सप्तरी र कुरिनटारस्थित तालिम शिक्षालयबाट गोताखोरसहित ६० जनाको टोली परिचालन गरिएको छ ।

अहिले पनि साउदको खोजी कार्य तीव्र रुपमा जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस