२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

भारतमा १५ तोला सुनका गहना र ८ लाख लुटेर स्वदेश आएका ६ नेपाली पक्राउ

काठमाडौं । भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली पक्राउ परेका छन्। पक्राउ परेका सबै कालिकोटका हुन्। उनीहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद सात लाख ८७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पङ्कज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन् ।

डीएसपी खनालका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका ११ स्थित होटल न्यु कालिकोटेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू भारतको दिल्लीस्थित एक घरबाट धनमाल लुटेर आई त्यहाँ बसिरहेका थिए।

पक्राउ परेकामध्ये २८ वर्षीया सरिता करिब एक वर्षअघि नयाँ दिल्लीस्थित सो घरमा काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार समूहका सदस्यको योजनाअनुसार नै सरिता परिचालित भएकी थिइन्। उनले घरका काम गर्दै विश्वास आर्जन गरेपछि कालिकोटबाट बाँकी सदस्यलाई बोलाएकी थिइन् । उनीहरूले घरमा कोही नभएको मौका छोपी सुनका गरगहना र नगद चोरी गरेर नेपाल फर्किएको डीएसपी खनालले बताइन्।

होटलमा बसिरहेका बेला उनीहरूलाई प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो। यसैबीच, पक्राउ परेकाहरूलाई बाँके जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न सात दिनको म्याद दिएको छ।

 

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस