२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

ऋण तिर्ने भन्दै सहकारीका कर्मचारीलाई घरमै बोलाएर जुत्ताको माला !

विराटनगर । सहकारीबाट लिएको ऋण तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्नेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ ।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भिडियो खिचेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि पछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सुशीला लामिछानेमाथि जुताको माला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खोजेका छन् । लामिछाने भने कुर्सीमा बसेकी थिइन् । राईलाई भने लछार पछार गरेको भिडियोमा देखिएको छ ।

‘ऋण खाएर नतिरेपछि ताकेता गर्दा उनीहरूले घरैमा छलफलका लागि बोलाएका थिए । घरमा पुगेका कर्मचारीलाई उनीहरूले जुत्ताका माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता, डिएसपी चुँडालले भनिन्।’ उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी चुँडालले बताइन् ।

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस