२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

निर्वाचन नभए देश भयावह संकटमा पर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन गराउन नसके देश भयावह संकटमा पर्ने चेतावनी दिएका छन्।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै दलले एकजुट भएर घोषित मितिमा निर्वाचन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

श्रेष्ठले भने, ‘अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको छ। अब छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानुपर्छ। सरकार असफल भयो भने देशमा भयावह अवस्था आउँछ।’

उनले जेन–जी आन्दोलनको उपलब्धि जोगाउन र अन्तरिम सरकारलाई सफल बनाउनुपर्ने बताए। आगामी फागुन २१ को निर्वाचन माओवादी कसको नेतृत्वमा जाने भन्नेबारे भने उनले पार्टी बैठक बसेर मात्रै निर्णय हुने बताए।

२४ भदौको घटनाबारे उनले आन्दोलनले त्यस्तो काम नगरेको स्पष्ट गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे। तोडफोड वा आगजनीमा कसैको संलग्नता भेटिए कारबाही गर्ने उनले प्रष्ट पारे।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस