२०८२ असोज ३ गते शुक्रवार | 2025 September 19th Friday

बालेनसँग मिलेर पार्टी खोल्ने चर्चाबीच बोले भिक्टर, यी हुन चर्चित अनुहार

काठमाडौं। काठमाडौंका मेयर बालेन शाह र युवा अभियन्ता भिक्टर पौडेल मिलेर नयाँ राजनीतिक दल खोल्ने तयारी भइरहेको चर्चा राजनीतिक वृत्तमा मात्र होइन, अनलाइन मिडियामा पनि तीव्र गतिले फैलिएको छ। विभिन्न अनलाइन मिडियाले यो पार्टीमा कुलमान घिसिङ, गोपी हमाल, सागर ढकालजस्ता व्यक्तित्वलाई समेत समेटिने बताउँदै समाचार सम्प्रेषण गरेका छन्। तर यसबिचमा धरानका मेयर हर्क साम्पाङलाई भने उक्त योजनामा समेटिएको छैन भन्ने चर्चा छ।

यस्तो चर्चा तिव्र गतिले फैलिँदै जाँदा भिक्टर पौडेलले सामाजिक सञ्जालमार्फत यसलाई ‘मिडिया ट्रायल’ र ‘भ्रामक समाचार’ भन्दै खण्डन गरेका छन्। उनले स्पष्ट पार्दै भनेका छन्, ‘‘केही अनलाइनहरूले यो–योसँग मिलेर म पार्टी खोल्दैछु भनेर गलत समाचार फैलाइरहेका छन्। तर, मेरो कुनै पनि राजनीतिक पार्टीमा जाने योजना छैन। समाजलाई योगदान दिन राजनीतिमात्रै गर्नु पर्छ भन्ने होइन, अरू तरिकाबाट पनि योगदान दिन सकिन्छ भन्ने मेरो विश्वास छ।’’

उनले थप स्पष्ट पारेका छन्, ‘‘म कुनै पार्टी वा व्यक्तिको पक्षमा कहिल्यै रहन्न। मेरो धारणा सधैं एउटै छ—देशलाई राम्रा मान्छे र युवाहरूले नेतृत्व गर्नुपर्छ। पुस्ताबीचको दूरी घटाउन युवाहरूले निष्कलङ्क मनले राजनीतिमा आउनुपर्छ, जसलाई म सधैं समर्थन गर्नेछु—चाहे उनीहरू कुनै दलभित्र होस् वा स्वतन्त्र।’’

Screenshot

यसैबीच, धरानका मेयर हर्क साम्पाङ भने बालेन शाहमाथि निरन्तर प्रहार गरिरहेका छन्। जेन-जेड आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न काठमाडौं आएका साम्पाङ प्रधानमन्त्री बन्ने आकांक्षा पुरा नभएपछि गृहजिल्ला फर्किएका थिए। उनले आफूलाई खानेपानी तथा श्रम मन्त्रालयको नेतृत्व लिन आग्रह गरिएको भए पनि अस्वीकार गरेको जनाएका थिए।

धरान फर्किएपछि साम्पाङले खुलेरै बालेन शाहविरुद्ध बोल्न थालेका छन्। यसको जवाफमा बालेनले पनि व्यंग्य गर्दै आफूले हर्कलाई ‘एकतर्फी माया गरेको’ टिप्पणी गरेका थिए।

अहिले बालेन शाहले पार्टी खोल्ने तयारी गरेको हल्ला तातिरहेको बेला साम्पाङले पुनः प्रहार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘देश जल्दा आफैं लुकेर बस्ने मान्छेले पार्टी खोल्ने रे! विदेशी एजेन्टको पार्टीमा लाग्ने युवाहरू कस्ता होलान्? मलाई त हाँसेरै मरिहाल्छु जस्तो लाग्छ।’’

उनले थप लेखेका छन्, ‘‘भूराजनीतिको नाममा विदेशी डिजाइनमा चलेर जति हजार वा लाख शहिद बने पनि देश बन्न सक्दैन। यो माटोमै उम्रिएको स्वतन्त्रताको विचारलाई विदेशीले मन पराउँदैनन्। बाहिर देखाउने कुरा एक किसिम हुन्छ तर भित्रका योजना अर्कै हुन्छन्। सच्चा नेपालीहरूले मात्र मेरो कुरा बुझ्छन्, विकाउ र बाहिरी शक्तिद्वारा परिचालितहरूले भने गाली मात्र गर्छन्।’’

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस