
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गीएर बनेका दलहरुका केन्द्रीय नेताहरुले पार्टी एकताको लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ बैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेका छन्।
अपिलमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने समाजवादी विचारका हामी युवा प्रतिनिधिहरु जेन-जी आन्दोलनपश्चात विकसित घटनाक्रमका सन्दर्भमा छलफल गर्ने क्रममा एउटा साझा निष्कर्षमा पुगेका छौँ। समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर रहेको छ। विगतमा भएका कमी कमजारीलाई सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्बद्ध दलको नेतृत्वसँग हामी जोडदार माग गर्दछौँ।’
त्यस्तै अपिलमार्फत मुलुकको आवश्यकता, आन्दोलनको मर्म, पार्टीका आम कार्यकर्ता र पार्टी सदस्यको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात् गर्ने अपेक्षा गरेको बताइएको छ।
संयुक्त अपिलमा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत र केन्द्रीय सदस्य खेमराज खड्का लोसपा नेपालबाट केन्द्रीय सचिव रामेश्वर यादव र केन्द्रीय सदस्य सुजन यादव जसपाबाट केन्द्रीय सदस्यहरु प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य नागरिक उन्मुक्ति पार्टीबाट केन्द्रीय सदस्यहरु दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ त्यसैगरी नेसपा (नयाँ शक्ति) बाट विष्णु प्रसाद पौडेल र प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन्।