
काठमाडौं । चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई बाहिर निकालेर कुटपिट गरेका थिए।
कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ। टाँका आजको चार दिनपछि मात्रै काट्न मिल्ने डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘डाक्टरहरूले चोटमा लगाइएका टाँका ४ दिनपछि मात्रै काट्न मिल्छ भन्नुभएको छ,’ स्वकीय सचिव भानुले भने, ‘त्यसपछि घाउ हेरेर बल्ल कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित हुन्छ।’
आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा सँगै रहेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि पनि कुटपिट भएका थिए। उनको पनि मुहार र शरीरमा चोट लागेकाले डिस्चार्जको समय निर्धारण भइसकेको छैन।
गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ दिनु भएको थियो। बैठकमा भनिएको थियो कि गर्दनमा गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको र केही समय अस्पतालमै राख्नु पर्नेछ।
कार्यसम्पादन समिति बैठकले देउवा निको भएपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दसैँअघि बैठक बस्ने सम्भावना कम छ।