२०८२ फाल्गुन १० गते आइतवार | 2026 February 22nd Sunday

सरकारको बोल्ड कदम : ओलीसहित शीर्ष नेताहरूको राहदानी रोक्का प्रक्रिया अघि बढ्यो

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ।

मन्त्रिपरिषद्सम्बद्ध स्रोतका अनुसार, तत्कालका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नाम पहिलो चरणमा सूचीमा परेको छ। त्यस्तै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नामसमेत प्रारम्भिक गृहकार्यमा समावेश गरिएको छ।

उच्च स्रोतका अनुसार राहदानी रोक्का गर्ने प्रक्रिया प्रारम्भिक चरणमा पुगेको छ। यसको लागि अध्यागमन विभाग, राहदानी विभाग र कानुनी सल्लाह अनुसार आधार प्रमाण, अनुसन्धानको प्रारम्भिक नतिजा र आवश्यक पत्राचारको तयारी भइरहेको छ।

यसैबीच, केही नेताहरूको घरमा सम्पत्ति शुद्धीकरण विभागले छानबिन अघि बढाएको छ। नेपाली कांग्रेसका नेता दीपक खड्का र सभापति देउवाको घरमा धनका स्रोतको अनुसन्धान गरिएको छ। जेनजी आन्दोलनको क्रममा ओली, प्रचण्ड र खड्काको निवासमा आगजनी भएको थियो। विभागले मुचुल्का उठाइसकेको छ र फोटोसहित तथ्यांक बाहिर आएका छन्।

नेपालको राहदानी ऐन २०७६ अनुसार, कुनै नेतामाथि अनुसन्धान जारी रहे वा अपराधको अभियोगमा छानबिन भइरहेको अवस्थामा उनीहरूको राहदानी रोक्का राख्न सकिने व्यवस्था छ। अहिले प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि अहिलेसम्म कसैको राहदानी रोक्का गरिएको छैन।

सरकारी स्रोतले भन्यो, ‘राहदानी रोक्का सम्बन्धी परामर्श भइसकेको छ र प्रक्रिया अघि बढिरहेको छ। आवश्यक आधार आएपछि रोक्का कार्यान्वयन हुनेछ।’

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस