
नुवाकोट । नुवाकोट जिल्लाको तादी गाउँपालिकास्थित एक विद्यालयलाई खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।
चितवन स्थायी घर भई काठमाडौंमा बसोवास गर्दै आइरहनुभहेकी विद्यालयकी भूपु विद्यार्थी बन्दना पाठक थपलिया र उहाँका श्रीमान् जगदिश्वर थपलियाले तादी वडा नं। ४ सातविसेस्थित सुन्दरा माध्यामिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्नुभएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक र शिक्षा सम्वद्ध सरोकारवालाहरुको उपस्थितिमा थपलिया दम्पतीबाट फुटबल, भलिबल, नेट लगायतका खेलकुद सामग्री सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज पाठकले जानकारी दिनुभयो ।
हाल तीनसय विद्यार्थी अध्ययनरत नुवाकोटको पुर्वी भेगकै शैक्षिक केन्द्रमध्येको एक मानिने सुन्दरा माविलाई उच्च गुणस्तरीय शिक्षाको थलोका रुपमा उचाइमा पुर्याउने अठोट लिएका अध्यक्ष पाठकले यसैगरी सबैले यो अभियामा सहयोग र साथ दिन आब्हान गर्नुभयो । हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाठकसहित विद्यालयका सहायक प्रधानाध्यापक कुमारराज श्रेष्ठ, सल्लाहकारहरु विष्णुकुमार पाठक र अर्जुन कार्कीको सहभागिता रहेको थियो ।
पठनपाठन सँगसँगै अतिरिक्त क्रियाकलाप मार्फत् विद्यालयमा अध्ययनरत बालबालिका तथा विद्यार्थीहरुको शारिरीक अभ्यास तथा प्रतिभाको विकासको लागि थोरै भनेपनि योगदान पुगोस् भन्ने उद्देश्यले यो सहयोग हस्तान्तरण गरिएको सहयोगी दाता बन्दना पाठक थपलियाले बताउनुभयो । २०३६ सालबाट सुरुवात भएको यस विद्यालय उहाँका हजुरबुबा तथा शिक्षासेवी दिवंगत एकाबहादुर पाठकले स्थापना गर्नुभएको थियो भने यसबाहेक नुवाकोट जिल्लाका अन्य भेगमा करिब एक दर्जन विद्यालयहरु स्थापना गर्न उहाँले योगदान दिनुभएको थियो ।
एक त मेरा हजुरबुबाले यो बिजारोपण गर्नुभएको विद्यालय हो भने अर्कोतर्फ मैले कखरा सिक्दै उच्च शिक्षासम्म पुग्न गोरेटो निर्माण गरिदिने मेरो जिवनको महत्वपूर्ण सिकाई पाठशाला यहि विद्यालय होु, पाठकले आफ्नो बाल्यकालको शैक्षिक यात्रा स्मरण गर्दै भन्नुभयो,हामीले विगतको त्यो समयमा विभिन्न अभाव र अफ्ट्याराहरु झेल्दै विद्यालय जिवन बितायौं । त्यो अवस्था अहिलेका आधुनिक समयका विद्यार्थीहरुले भोग्नु नपरोस् । यहि उद्देश्यले अहिले सुरुवातमा धेरै गर्न नसकिएपनि आफुले अध्ययन गरेको विद्यालयका लागि मेरोपनि केहि दायित्व हुनुपर्छ भन्ने मान्यता बोकेर यो सानो योगदान मात्र गरेको हुँ ।ु यसैगरी सबै क्षेत्रबाट हरेकले आफ्नो क्षमता र हैसियत अनुसार विद्यालयको विकासमा मद्दत पुर्याउन पनि जागरुक बन्नेतर्फ यो प्रेरणाको सन्देश पुग्नेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । २०५४ सालमा पाठकले यसै विद्यालयबाट एसएलसी पुरा गर्नुभएको थियो ।
मानवियताको भावना राखेर विभिन्न व्यक्ति, समुदाय तथा संघ संस्थालाईद थपलिया दम्पतिले सहयोग गर्दै आइरहनुभएको छ । उहाँका श्रीमान् जगदिश्वर थपलिया पनि आफ्नो व्यवसायसँगै समाजसेवामा सक्रिय हुनुहुन्छ । लायन्स क्लबका साथै राजधानीका ठूला अस्पतालहरुमा रगत अभाव हुन नदिन र नेपालमा रक्तदानमार्फत् मानव जिवन रक्षामा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएको छ ।