२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

अभ्यास खेलमै अस्ताए १७ वर्षीय क्रिकेट खेलाडी, मेलबर्नमा घट्यो दुखद घटना

काठमाडौं । अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ।

१७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गर्दै गर्दा स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा चोट पुर्‍याएको थियो।

अभ्यासका क्रममा उनले हेलमेट लगाएका थिए, तर चोट गम्भीर भएपछि उनलाई तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। बीबीसीका अनुसार, अस्पतालमा लाइफ सपोर्टमा राखिएको अवस्थामा बुधबार उनको मृत्यु भएको हो।

फेर्नट्री गली क्रिकेट क्लबले आफ्ना प्रतिभाशाली र सबैका मनपर्ने खेलाडीको निधनमा क्लब “पूर्ण रूपमा विक्षिप्त” भएको बताएको छ।
क्लबका अध्यक्ष आर्नी वाल्टर्सले बेनलाई “स्थानीय क्रिकेटमा प्रतिभाशाली र लोकप्रिय” खेलाडी भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यो घटना अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको एक दशकपछि आएको हो। ह्युजको सन् २०१४ मा ब्याटिङका क्रममा बल घाँटीमा ठोक्किँदा मृत्यु भएको थियो, जसपछि खेलमा सुरक्षा उपकरणमा सुधार गरिएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस