२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

गृहमन्त्री अर्यालको एमाले कनेक्सन खुलेपछि सबैले हेरेको हेरेकै, बालुवाटारमा प्रधानमन्त्रीका अगाडि यतिसम्म भयो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २० दलका नेताहरूसँग निर्वाचन र सुरक्षा सम्बन्धी छलफल गरेकी छन्। छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका प्रमुख दलका नेताहरू सहभागी थिए।

बैठकको रोचक मोड तब आयो जब गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबीच सवाल-जवाफ सुरु भयो। अर्यालले आफूमाथि एमालेले बढी ‘टार्गेट’ गरेको आरोप लगाए। उनले भने, “एमालेहरूले ममाथि बढी टार्गेट गरेका छन्, म पोलिटिकल भिक्टिम भएको छु।”

यसको जवाफमा महासचिव पोखरेलले भने, “तिमीले पनि गृहमन्त्रीको जिम्मेवारीअनुसारको काम गरेका छैनौ। कसैलाई समात्ने वा पक्रने अभिव्यक्ति अति भएको हो।” अर्यालले त्यसपछि आफू पनि पहिलाको एमाले भएकाले पार्टीको पूर्व र वर्तमान अभ्यासबारे राम्ररी जानकारी राख्ने बताए।

अर्यालले बैठकमा भनेका थिए, “एमालेको स्कुलिङ अहिले जस्तो थर्काउने र गुण्डागर्दी गर्ने शैलीमा थिएन। सरकारलाई सुरक्षा चुनौती दलबाट पनि आउँछ। भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतले सुरक्षा चुनौती थपेका छन्।”

प्रधानमन्त्री कार्की छलफलमा निर्वाचन गराउन दृढ रहेकी देखिइन्। उनले भनिन् कि चुनावमा सहभागी हुने वा नहुने राजनीतिक दलहरू नै ‘स्टेकहोल्डर’ हुन् र सरकार निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ।

बैठकमा केही दलले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने सुझाव दिए भने केही दलले निर्वाचन समयमै गर्नुपर्ने जोड दिएका थिए। नेताहरूले निर्वाचनसँग जोडिएका शान्ति सुरक्षा चुनौती र अघिल्ला आन्दोलनका क्रममा लुटिएका हतियार तथा अपराधीहरूको विषयलाई मुख्य समस्या ठाने।

कांग्रेस र एमालेले अर्यालको “थुनेको छाड्नुपर्छ” भन्ने अभिव्यक्ति आलोचना गर्दै भने कि उनले सुरक्षा निकायको नियमित प्रक्रिया भत्काएका छन्। एमाले महासचिव पोखरेलले गृहमन्त्रीको क्रियाकलाप हाँस्यास्पद र जिम्मेवार नभएको टिप्पणी गरेका थिए।

अन्ततः बैठकमा अर्यालले भने, “सुशासन कायम गर्ने र शान्ति सुरक्षा सुनिश्चित गर्ने सरकारको काम हो। यसमा दलहरूले पनि सहकार्य गर्नुपर्छ।”

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस