२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

बालुवाटारमा सुरु भयो प्रधानमन्त्रीको सर्वदलीय बैठक, गगनसहित यी नेताहरू पुगे

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारस्थित सरकारी निवासमा सुरु भएको छ। बैठकमा विभिन्न १० राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको चुनाव मिति तोकिएको छ। सो निर्वाचनको सुरक्षा र तयारीबारे दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले संवादको पहल गरेकी हुन्। प्रधानमन्त्री बनेपछि उनले पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल सुरु गरेकी हुन्।

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनको जगमा सत्तामा पुगेकी हुन्। यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा पनि सहभागी भएकी थिइन्।

नेकपा (एमाले) ले भने तोकिएको मितिमा निर्वाचन सम्भव नहुने निष्कर्ष निकालेको छ र संसद् पुनर्स्थापनाको माग समेत राखेको छ। यस्तो परिस्थितिमा प्रधानमन्त्री कार्कीको पहलमा सर्वदलीय छलफल सुरु भएको हो।

बैठकमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी छन्।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र जनमत पार्टीका नेता चन्दन सिंह सहभागी छन्।

त्यस्तै, नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन्।

एकीकृत समाजवादी पार्टीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला बैठकमा उपस्थित भएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस