२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

प्रधानमन्त्रीको शपथमा देखिएका नयाँ अर्जुनबारे सनसनीपूर्ण खुलासा, होटल प्रकरण खुल्दा प्रहरी चकित

काठमाडौं। जेन-जी भन्दै विभिन्न सरकारी कार्यालयहरूमा गएर धम्की दिने अर्जुन शाहीले होटलमा बस्न प्रहरीको परिचयपत्र प्रयोग गरेको खुलेको छ।

बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ परेका शाहीमाथि अनुसन्धानका क्रममा उक्त तथ्य बाहिर आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

उनको साथबाट सहायक निरीक्षक (असई) कुमार शर्माको परिचयपत्र फेला परेको र सोधपुछमा उनले उक्त परिचयपत्र चावहिलस्थित होटलमा बस्नका लागि प्रयोग गरेको बताएका छन्।

प्रहरीका अनुसार भदौ २४ पछि शाही चावहिलका विभिन्न होटलमा बसेका थिए। सोधपुछका क्रममा असई शर्माले आफ्नो परिचयपत्र जेन-जी आन्दोलनकै क्रममा हराएको बताएका छन्। उनले अर्जुन शाहीलाई व्यक्तिगत रूपमा नचिन्ने र कार्यालयबाट हराएको परिचयपत्र शाहीको हातमा परेको हुनसक्ने बताएका छन्।

अछामको पञ्चदेवल नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय शाही बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक अभियोगमा फरार रहेका थिए। उनले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए।

शाही यसअघि सुशीला कार्कीको शपथग्रहण कार्यक्रममा सुधन गुरुङसँगै ‘जेन-जी’का सहसंयोजकका रूपमा शीतल निवास प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस