
काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन्।
अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालका अनुसार प्रहरीले जाहेरी बुझेको छ र सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र दर्ता गर्ने वा नगर्ने निर्णय गर्ने जनाएको छ।
बडालले भने, ‘हामी कानूनी राज्य र विधिको शासनका पक्षमा छौं। त्यसैले कानूनी बाटोबाट अघि बढेका हौं।’ उनले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले गर्ने निर्णयअनुसार आफूहरूले पनि अर्को कदम तय गर्ने बताए।
अखिलले सिंहदरबार लगायतका सरकारी संरचना र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा प्रहरीमाथि भएको आक्रमणमा बालेन र सुदनको संलग्नता रहेको आरोप लगाएको छ।
यसअघि सुदन गुरुङलगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको थियो। तर उक्त जाहेरी जेन-जी आन्दोलनबारे अध्ययन गर्न गठन गरिएको सरकारी जाँचबुझ आयोगलाई पठाइएको छ।