काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई सम्झाउने अर्को दर्दनाक घटना मोरङको लेटाङमा भएको छ। गत असोज २१ गते ‘पिङ खेल्न जान्छु’ भन्दै घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको शव १८ दिनपछि लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा क्षतविक्षत र टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ। प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको र प्रमाण नष्ट गर्न शव टुक्र्याइएको हुनसक्ने आशंका गरेको छ।
प्रहरीका अनुसार, शव अत्यधिक कुहिएको र छरिएको अवस्थामा थियो, जसले पहिचान गर्नसमेत कठिनाइ भएको छ। शव फेला परेको स्थान बुधबारे चौरबाट करिब साढे चार किलोमिटर टाढा छ, जसले अपहरणपछि योजनाबद्ध बलात्कार र हत्या भएको हुनसक्ने संकेत गर्छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले अनुसन्धान गम्भीर र सूक्ष्म रूपमा अघि बढिरहेको बताइन्। “अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर घटनाको प्रकृतिले आशंका गर्न प्रशस्त आधारहरू छन्,” उनले भनिन्।
घटनास्थलमा कपडा शरीरबाट अलग भएको र तल्लो भाग नग्न अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या भएको बलियो आधार प्रहरीले देखेको छ। “शवको अवस्था जटिल छ, जंगली जनावरले क्षति पुर्याएको हुनसक्छ, तर अपराधीले प्रमाण लुकाउन यस्तो गरेको कोणबाट पनि अनुसन्धान भइरहेको छ,” डीएसपी चुँडालले थपिन्। पोस्टमार्टमको औपचारिक रिपोर्ट नआएसम्म अनुमान गर्न नमिल्ने भए पनि तथ्य र प्रमाणले घटनाको वास्तविकता छिट्टै बाहिर आउने उनले बताइन्।
परिवार वा अभिभावकसँगको कुनै रिसइबीका कारण अंशुलाई निशाना बनाइएको हो कि भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यस्तो क्रूर घटनाले स्थानीय समुदाय त्रसित र मर्माहत बनेको छ। “हामी सत्यतथ्य बाहिर ल्याउन प्रतिबद्ध छौँ,” डीएसपी चुँडालले भनिन्। यो घटनाले निर्दोष बालिकामाथि भएको अमानवीय व्यवहारप्रति व्यापक आक्रोश उत्पन्न भएको छ।

