काठमाडौं — बौद्धस्थित पाँचतारे ह्यात होटल शुक्रबारदेखि अस्थायी रूपमा बन्द भएको छ। होटलले श्रमिकहरूलाई अर्को सूचना नआउञ्जेल होटल परिसरमा उपस्थित नहुन सूचित गरेको छ।
गत भदौ २४ मा भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त बनेको होटल मर्मत र पुनर्निर्माणको जोखिम र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पूर्ण रूपमा बन्द गरिएको हो। ह्यात रिजेन्सीका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा यस्तो उल्लेख गरिएको छ।
होटलको अस्थायी बन्दप्रति शनिबार प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन्। उनको आग्रहमा अर्थमन्त्री रामेश्वर खनालले होटल सञ्चालक तथा व्यवस्थापन टिमसँग छलफल गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

व्यवस्थापन स्रोतका अनुसार, आक्रमणकारीले होटल परिसरमा प्रवेश गरी क्यासिनोमा बढी क्षति पुर्याएका थिए। घटनापछि बुकिङ रद्द भएका कारण होटल सञ्चालन असम्भव भएको व्यवस्थापनले जनाएको छ।
पुनर्निर्माणका लागि डिजाइन कार्य सुरु भइसकेको छ। होटलमा प्रयोग भएका विदेशी सामग्री ल्याउन समय लाग्ने र बीमा र बैंक प्रक्रिया ढिला हुने अनुमान गरिएको छ। यही कारणले श्रमिकहरूलाई होटलमा उपस्थित हुन नबताइएको छ।
सरकारले व्यवसायीहरूलाई आवश्यक सहयोग दिने प्रतिबद्धता जनाएको छ। अर्थमन्त्री खनालले व्यवसायीहरूलाई मनोबल उच्च राख्न आग्रह गर्दै, “नआत्तिनू, सरकार साथमा छ, कुनै पनि सहयोग चाहियो भने भन्नुस्,” भनेका छन्।
होटल पुनर्निर्माणमा समय लाग्ने भए पनि सरकार र व्यवस्थापनको प्रयास जारी रहेको छ।

