२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

धेरै सहज भयो भिजिट भिसामा विदेश जाने कुरा, अब यी कागजात भए मात्रै पनि हुने

काठमाडौं । भिजिट भिसाका नाममा भइरहेका गलत क्रियाकलाप नियन्त्रण गर्दै अध्यागमन प्रशासनमा सुशासन र व्यावसायिकता प्रवर्द्धन गर्ने उद्देश्यले हाल लागू ६ बुँदे मापदण्ड र अन्य पुराना प्रावधानहरू खारेज गरिएको छ।

अध्यागमन विभागले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अबदेखि भिजिट भिसामा विदेश जान चाहने व्यक्तिले ६ महिना वैध राहदानी, प्रवेशाज्ञा वा ‘अन अराइभल’ भिसा, गन्तव्यसम्मको हवाई टिकट र स्वघोषणा पेस गरे प्रस्थान अनुमति पाउने निर्णय भएको जानकारी दिएको छ।

विभागले नयाँ व्यवस्था आजैदेखि लागू भएको जनाउँदै कुनै बिचौलियाको प्रभावमा नपरी यात्रासम्बन्धी सम्पूर्ण जानकारीसहित निर्धक्क यात्राको तयारी गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।

विभागले अध्यागमन नियमन र सहजीकरणबीच सन्तुलन कायम गरी सुशासन, पारदर्शिता र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस