काठमाडौं । उत्तरी जापानमा यस वर्ष भालु आक्रमण रेकर्ड स्तरमा पुगेपछि अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले सेनाको सहयोग मागेका छन्। मंगलबार उनले रक्षामन्त्रीलाई सम्बोधन गर्दै आत्मरक्षा बल (Self-Defense Forces) को सहयोगबिना नागरिकको जीवन रक्षा सम्भव नभएको बताएका हुन्।
सरकारी तथ्यांकअनुसार चालु वर्ष अहिलेसम्म भालुको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ। यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षमा भएका ६ जनाको मृत्युदरभन्दा बढी हो। गभर्नर सुजुकीले भने, “घाँटी र अनुहार लक्षित आक्रमण सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ।”
पहिले केवल पहाडी क्षेत्रमा सीमित रहेका भालुहरू अब सहर र बस्तीमा समेत देखिन थालेका छन्। सुजुकीका अनुसार, “स्थानीय बासिन्दाको दैनिकी अवरुद्ध भएको अवस्था असामान्य छ।”
रक्षामन्त्री सिन्जिरो कोइजुमीले सरकार ‘सुरक्षा पुनः स्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्।
वातावरण मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा अकिताको पहाडी गाउँमा एक व्यक्तिको मृत्यु भएको र तीन जना घाइते भएका छन्। सोमबार अकिताकै धान खेतमा एक महिला मृत फेला परेकी थिइन् भने इवाटेमा एक पुरुष र उनको कुकुर पनि आक्रमणमा परेका थिए।
पछिल्ला वर्षहरूमा भालुहरूले पर्यटक, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटनामा तीव्र वृद्धि भएको छ। विशेषज्ञहरूका अनुसार खानाको कमी र जलवायु परिवर्तनका कारण भालुहरू बस्तीमा पस्न थालेका हुन्।
जापानमा पाइने दुई प्रजाति — एसियाली कालो भालु र होक्काइडोका खैरो भालु — मध्ये केहीको तौल ५०० किलोग्रामसम्म हुने गर्छ। हरेक वर्ष सयौँ भालु मारिए पनि वृद्ध जनसंख्या र घट्दो शिकारीको संख्याका कारण नियन्त्रण कठिन बनेको छ।
गत हप्तामात्रै वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई “गम्भीर र राष्ट्रिय समस्या” भन्दै शिकारी तालिम, भालु व्यवस्थापन र सुरक्षा उपायलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

