काठमाडौं। सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। शनिबार भवन स्थलको अवलोकनपछि उहाँले ठेकेदार कम्पनीलाई दैनिक कार्यतालिका बनाएर गम्भीरतापूर्वक काममा जुट्न आदेश दिनुभयो।
मन्त्री घिसिङले भने, “पाँचौँ पटक म्याद थप्दा ठेकेदार कम्पनीले आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ, त्यसैले अब तोकिएको समयमा काम सक्नुपर्छ।”
‘जेनजी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन क्षतिग्रस्त भएपछि राष्ट्रियसभा बैठक सञ्चालनमा कठिनाइ भएको बताउँदै मन्त्री घिसिङले नयाँ भवन छिटो सम्पन्न गर्न आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भने, “हाल क्षतिग्रस्त संसद् भवनलाई प्रयोग गर्न समय लाग्ने भएकाले नयाँ भवन समयमै सकिनु अत्यावश्यक छ।”
ठेकेदार कम्पनीका प्रतिनिधिहरूका अनुसार हालसम्म भवनको करिब ८७ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले भवनभित्र फिनिसिङ कार्य भइरहेको छ भने केही सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाइएको छ।
सिंहदरबार परिसरभित्र १५७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो नयाँ संघीय संसद् भवन आगामी पुस १६ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ।

