२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

एकैपटक ३६ जनाको सरुवा, गृह मन्त्रालयको निर्णयले मच्चायो हलचल (नामसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसमेत सरुवा सूचीमा परेका छन्। ललितपुर, मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रजिअ बनाइएको छ भने जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरे झापाको प्रजिअमा नियुक्त भएका छन् भने झापाका प्रजिअ गोपालकुमार अधिकारी काभ्रेपलाञ्चोकमा सरुवा भएका छन्। सहसचिव गोगनबहादुर हमाल बर्दियाका प्रजिअ बनेका छन् भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेल सिरहामा सरुवा भएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल मोरङको प्रजिअमा सरुवा भएका छन् भने मोरङका प्रजिअ इन्द्रदेव यादव महोत्तरी पठाइएको छ। गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराई ललितपुरको प्रजिअमा पठाइएका छन् भने ललितपुरका प्रजिअ सुमन घिमिरे सो विभागमा जिम्मेवारी लिएका छन्।

सरुवा सूचीमा रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअहरू समावेश छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस