२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

अर्काको श्रीमान्‌सँग जीवन जिउन सकिएन भन्दै अस्ताइन शिक्षिका, मोबाइल कभर पछाडि भेटिएको नोटमा के छ ?

धनगढी — डोटीमा शिक्षिका जानकी खड्का मृत भेटिएको घटनामा प्रहरीले विद्यालय निरीक्षक गणेश रावललाई पक्राउ गरेको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया खड्का सोमबार घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

प्रहरीका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा शिक्षा तथा समन्वय एकाइ डोटीका विद्यालय निरीक्षक गणेश रावल (२८) लाई पक्राउ गरिएको हो। रावल शिखर नगरपालिका–११ घर भएका हुन्।

खड्का बाजुराको भानुदय नमूना माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार फेसबुकबाट चिनजान भएका रावलसँगको प्रेमसम्बन्ध र मानसिक तनावका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ।

उनको मोबाइल कभर पछाडि भेटिएको सुसाइड नोटमा लेखिएको छ — “अर्काको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सकिएन।” नोटमा उनले रावलले नै फ्रेन्ड रिक्वेस्ट पठाएको, कहिल्यै भेट नभएको र आफूलाई फसाएको उल्लेख गरेकी छिन्।

खड्काले आमाबुवाको इज्जत गुमाएर यस्तो सम्बन्ध कायम राख्न नसक्ने लेख्दै भाइलाई आमाबुवाको हेरचाह गर्न अनुरोध गरेकी छन्। उनले आफ्नो बैंकिङ र आर्थिक विवरण पनि सुसाइड नोटमै उल्लेख गरेकी थिइन्।

दुई वर्षअघि स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेकी खड्का परिवारकी जेठी सन्तान थिइन्। उनका भाइ प्रदीप खड्काले भने, “हाम्रो परिवारको आधार ढल्यो। दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ।”

पक्राउ परेका रावलले जानकीसँग विवाह गर्न दबाब दिएको र धम्की समेत दिएको परिवारको आरोप छ। प्रहरीले रावल विवाहित भई सन्तानसहितको परिवार भएको पुष्टि गर्दै मुद्दामा आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस