२०८२ असोज २० गते सोमवार | 2025 October 6th Monday

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

Friday Puja to Goddess Santoshi and Baibhavalakshmi

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।

आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रुपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दशैंको बिदा र तिहारको तयारीको रुपमा पनि लिने गरिन्छ ।

 

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस