
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुई वटा सुटकेश ल्याएका थिए । ती सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान भेप रहेका थिए, जसमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो ।
अनुसन्धानमा भन्सारका नासु रेवन्त खड्का लगायतको मिलेमतोमा उक्त सुन बेचिएको र त्यसलाई छुटाउन महराले दबाब दिएको आरोप लागेको छ । यसअघि उनका छोरा राहुल महरा यसै प्रकरणमा पक्राउ परेर जेल चलान भइसकेका थिए ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउने चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर संवाद भएको कल रेकर्डसमेत प्रहरीले फेला पारेको छ ।
सत्ताको आडमा लामो समय रोकिएको यो फाइल अहिले पुनः अघि बढ्दै छ । महरासँग केही दिनअघि बयान लिइएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो ।