२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

सरकारविरुद्धको भाषणका बीचमा ढले कमल गौतम, के थिए उनका अन्तिम शब्द?

रुपन्देही — नेपाल विद्युत् प्राधिकरणले १३ वटा उद्योगमा गरेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

अचानक ढल्नुभएका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। यो जानकारी सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पुष्टि गरेका हुन्।

बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकमा गौतमले संस्थागत रूपमा आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए। धर्ना कार्यक्रममा बोल्दै उनले आक्रोशपूर्ण ढङ्गमा सरकार र विद्युत प्राधिकरणमाथि उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आग्रह पनि गरेका थिए।

उनका अनुसार उद्योगीहरूले नियमित रूपमा मासिक विद्युत महसुल तिरे पनि एक्कासि चार वर्षको बिल थमाइँदा उनीहरू पीडित बनेका छन्। उनले भनेका थिए, “जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने बनाइएको छ, तर वास्तविकता त्यो होइन। यो गैरजिम्मेवार विद्युत प्राधिकरण र सरकारी पक्षको कारणले भएको हो, त्यसको जिम्मेवारी विद्युत कर्मचारीहरूले लिनुपर्छ।”

आन्दोलन साङ्केतिक मात्र नभई गम्भीर बनेको उल्लेख गर्दै उनले करिब २५ हजार श्रमिकको रोजगारी संकटमा परेको बताएका थिए। बोली लरबरिँदै जाँदा उनले अन्तिम शब्द भनेका थिए, “अतः यो कारणले…” त्यसपछि उनी मञ्चमै ढलेका थिए।

उनी ढलेलगत्तै अस्पताल पुर्‍याइएका गौतमलाई चिकित्सकहरूले मुटुघातका कारण मृत्यु भएको हुन सक्ने बताएका छन्। डा. लक्ष्मण दुवेका अनुसार, “अस्पतालमा ल्याउँदा नै उहाँको मृत्यु भइसकेको थियो।”

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस