२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

बिहारमा चुनाव, नेपालमा असर ! यी तीन जिल्लाका सीमा नाका तीन दिन बन्द

काठमाडौं । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएपछि नेपाल–भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार सूचना जारी गर्दै आगामी कात्तिक २२ गते साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमा नाका बन्द हुने जनाएको हो। बिहारमा मङ्गलवार मतदान हुने भएकाले शान्ति–सुरक्षाको दृष्टिले यस्तो व्यवस्था मिलाइएको हो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बन्द अवधिमा मानवीय तथा आकस्मिक सेवा बाहेक सम्पूर्ण आवागमन रोकिँनेछ।

त्यस्तै, धनुषा, सर्लाही र रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै सीमा नाका बन्द हुने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द आवश्यक भएको हो।

सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा खुलेपछि पुनः रेल सेवा सुचारु गरिने जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस