काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पछिल्लो समय गम्भीर मानसिक र शारीरिक थकानले ग्रस्त भएको खुलेको छ । उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमा सेयर गरेको फोटोसहितको स्टाटसमा धुर्मुस सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा उपचार लिइरहेको देखिन्छ ।
कुञ्जनाले धुर्मुस निकै थकित भएको उल्लेख गर्दै उनी चाँडै सामान्य अवस्थामा फर्किने आशा व्यक्त गरेकी छिन् । धुर्मुसले केही समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रूपमा कमजोर भएको कुरा आफूले पनि स्वीकार्दै आएका छन् ।
उनको तनावको मुख्य कारण भनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका विवादहरूसँग जोडिएको मानिन्छ । सहयोग नजुट्नु, सरकारी उदासीनता र १८ करोडभन्दा बढी बाँकी रहेको ऋणले धुर्मुसलाई निरन्तर दबाबमा राखेको छ । रंगशाला सरकारले जिम्मा लिए पनि समस्याहरू नसल्टिँदा उनी झन् तनावमा परे ।
धुर्मुसको स्वास्थ्य अवस्थामा कलाकार मनोज गजुरेल र हिमेस पन्तले चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

