२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

फागुन २१ को निर्वाचन : एक लाख बढी म्यादी प्रहरी भर्ना, के छ सरकारी तयारी ?

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै यो निर्णय गरेको गृह मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक प्रतिनिधि सहभागी थिए।

निर्वाचन सुरक्षा योजना अनुसार तीनवटा घेरा बनाई सुरक्षा व्यवस्था गरिनेछ। पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी, र तेस्रोमा सेना खटाइनेछ। आवश्यकता अनुसार सबै सुरक्षाकर्मी फ्रन्टलाइनमा परिचालित हुन आदेश आवश्यक नपर्ने निर्णय गरिएको छ।

बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचन अघि, समयमा र पछि सतर्कता अपनाउने निर्णय गरेको छ। मुख्य चुनौतीको रूपमा निर्वाचनमा भाग नलिने समूह र ब्यारेक बाहिर रहेको हतियार रहेका छन्।

निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा गोष्ठी लुम्बिनी प्रदेशबाट मंसिर ९ देखि सुरु हुने पनि जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस