काठमाडौं । जेनजी आन्दोलनका २३–२४ भदौका घटनाको छानबिन गर्न गठित विशेष आयोगलाई नेपाली सेनाले केही घटना विवरण पठाएको छ। सेनाले घटनास्थलमा के भयो र कसरी भयो भन्ने विवरण पठाए पनि आयोगले माग गरेको खटिएका सैनिक अधिकारीहरूको सूची भने पाएको छैन।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, घटनासम्बन्धी विवरण आयोगमा पठाइसकेको छ र समन्वय भइरहेको छ। तर आयोग स्रोतले भने मागअनुसारका पूर्ण विवरण अझै प्राप्त नभएको बताएका छन्।
आन्दोलनको समयमा सिंहदरबार लगायत महत्वपूर्ण संरचनाहरूको सुरक्षा र भिड नियन्त्रणमा नेपाली सेनाले न्यूनतम शक्ति प्रयोग गरेको जनाएको छ। हवाइ फायर र भौतिक ढाँचा प्रयोग गरेर मात्र भिडलाई रोकिएको थियो। सेनाले आफ्नो कार्यवाहीलाई मानव जीवनको सुरक्षा सर्वोपरि राखेर आवश्यक कदम उठाएको बताएको छ।
आयोग–सेनाबीच घटना विवरण र सैनिक अधिकारीहरूको विवरण नपठाउने विषयमा स्पष्ट टकराव देखिएको छ। सेनाका अनुसार, सैनिक ऐनअनुसार अधिकारीहरूको कारबाही र विवरण उपलब्ध गराउने जिम्मेवारी सेनामा नै छ, आयोगको होइन।
जाँचबुझ आयोगका कार्यशैली र अभिव्यक्तिलाई लिएर सुरक्षा क्षेत्र, राजनीतिक दल र नागरिकहरूले पनि संशय व्यक्त गर्दै आएका छन्।

