२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

बालुवाटारमा सरकार–दुर्गा पक्ष वार्ता : यस्तो आयो अन्तिम निर्णय (विज्ञप्तिसहित)

काठमाडौँ। दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलिका लागि घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

सरकारसँग बालुवाटारमा भएको वार्तापछि महाअभियानले नेपाल बन्द, अनिश्चितकालीन आमहड्ताललगायत कार्यक्रम रोक्ने निर्णय गरेको हो।

शनिबार साँझ बालुवाटार पुगेको प्रसाईं पक्षसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए।

वार्तामा २७ बुँदे मागबारे विस्तृत छलफल भएको र अर्को चरणको वार्ता महाअभियान नेतृत्वसहित छिट्टै आयोजना गर्ने समझदारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राखेर उठाइएका मुद्दामा निरन्तर संवाद चलाइने सहमति पनि भएको छ।

महाअभियानले मंसिर ७ देखि नेपाल बन्द र अनिश्चितकालीन हड्ताल गर्ने घोषणा गरेको थियो। आजको वार्तामा अभियानका सचिव प्रेमदीप लिम्बुको टोली, अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए।

दुर्गा प्रसाईं भने अहिले पनि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस