२०८२ मङ्सिर ५ गते बिहिवार | 2025 November 20th Thursday

भदौ २४ गते लुटिएका हतियार खोज्न अब चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएका हतियार खोज्न सरकारले चारवटै सुरक्षा निकायको संयुक्त अप्रेसन चलाउने भएको छ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसको सुरक्षा समितिको बैठकले आगामी निर्वाचनका लागि सबैभन्दा चुनौती नै लुटिएका हतियार र फरार कैदीबन्दी रहेको निष्कर्ष निकालेको छ ।

त्यसका लागि चारवटै सुरक्षाकर्मी सम्मिलित अप्रेसन चलाउनु पर्ने निर्णयमा केन्द्रीय सुरक्षा समिति पुगेको हो । यसका लागि सरकारले जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनेछ । त्यसपछि जिल्ला सुरक्षा समितिले आ आफ्नो जिल्लामा नेपाली सेनासहित चार वटै सुरक्षाकर्मीको संयुक्त अप्रेसन चलाएर हतियारको खोजी गर्न थाल्नेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै ६ सय जति हतियार फेला परेका छैनन् । जेनजी आन्दोलनका क्रममा काठमाडौँसँगै उपत्यका बाहिरका जिल्लाबाट पनि प्रहरीका हतियार लुटपाट भएका थिए । तीमध्ये केही त्यतिबेलै नेपाली सेनालाई बुझाएका थिए भने कतिपय पछि प्रहरीले बरामद गरेको थियो । अहिले पनि दिनहुँ छिटफुट हतियार बरामद भइरहेको छ । प्रहरीले पछिल्लो समय लुटिएका हतियार केन्द्रीय अप्रेसन चलाइरहँदा पनि अपेक्षित हतियार फिर्ता आउन नसकेपछि अन्य सुरक्षा निकायसहितको अप्रेसन चलाउने निर्णय भएको हो ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस