काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशी सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेश र सम्बन्धित फाइलहरू माग गरेको छ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले फाइल (मिसिल) झिकाउन आदेश दिएको हो। जिल्ला अदालतबाट फाइल आएपछि रविले थुनामुक्त हुन माग गर्दै पेश गरेको निवेदनमाथि सुनुवाइ हुनेछ। उनले आफ्नो भाग बराबरको बिगो रकम बुझाएर बाहिरै बसेर मुद्दा लड्न माग गरेका छन्।
सुनुवाइका क्रममा अधिवक्ता अपूर्व खतिवडाले छविराज जोशीका तर्फबाट बहस गरेका थिए। न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप फाइल झिकाएपछि मात्र अर्को पेशी तोकिने निर्णय गरेका हुन्। त्यसपछि रविका कानुन व्यवसायीहरूले बहस गर्न नपाई आजको सुनुवाइ टुंगिएको हो।
यसअघि कात्तिक १३ मा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो। त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।
रविले सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतस्वरूप पेश गरे पनि जिल्ला अदालतले रिहा नगरेपछि उनले भदौ ९ मा उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ मा उनको निवेदन अस्वीकार गरेको थियो। सो मुद्दामा रविसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।

