काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा पुगेर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सुरक्षा तयारीको प्रत्यक्ष समीक्षा गरेकी छन्। सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र चुनाव लक्षित परिचालन योजना विस्तृत रूपमा प्रधानमन्त्रीसमक्ष राख्यो।
प्रधानमन्त्रीले आन्दोलनपश्चात् गठन भएको सरकारले शान्ति–सुरक्षा कायम राख्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गरिन्। उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन सेनाले पाएको भूमिका प्रभावकारी रूपमा निभाउने विश्वास व्यक्त गरिन्।
निर्देशनमा प्रधानमन्त्रीले जनताको सुरक्षा सुनिश्चित गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न, चुनावमा एक थोपा रगत नबग्ने लक्ष्यसहित सबै सुरक्षा निकायबीच त्रुटिरहित समन्वय गर्न र जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार तथा फरार अभियुक्तको खोजीमा कुनै कमी नछोड्न आदेश दिइन्।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

