काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीहरू र सचिवहरूलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्द्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।’
उनले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनबाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामा सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही न केही काम भएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् ।

