२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयले भ्रष्टाचार नियन्त्रण, सुशासन, र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले भनिन् कि नागरिकले सुधार प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी ब्लूप्रिन्ट तयार हुनुपर्छ। उनले कर्मचारीहरूलाई स्थायी सरकारको जिम्मेवारी बोध गर्दै आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गरेर कर्तव्य पालनामा खरो उत्रन आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, सार्वजनिक कोषको प्रभावकारी प्रयोग गर्न र निजी क्षेत्रसँग सहकार्य गरी औद्योगिक वातावरण सुधार गर्न पनि निर्देशन दिएकी छिन्।

साथै, उनले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको रिपोर्ट तयार गरी पुनर्निर्माण कार्ययोजना बनाउन र वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्न आग्रह गरेकी छिन्। “परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्नुहोस्,” उनले भनिन्।

प्रधानमन्त्रीको निर्देशन अनुसार, कर्मचारीहरूको सरुवा-प्रबर्धन प्रणाली पारदर्शी, न्यायोचित र अनुमानयोग्य हुनुपर्ने छ। अनावश्यक संरचना खारेज, गाभ्ने र हस्तान्तरण गरी प्रशासनलाई चुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने काम तत्काल प्रारम्भ गर्नुपर्छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस