२०८२ कार्तिक २० गते बुधवार | 2025 November 5th Wednesday

जाँचबुझ आयोगमा रवि लामिछानेले दिएको बयानले सबै झस्किए !

काठमाडौं। पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्कँदा सार्वजनिक भएको पत्रबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन गरिएको उच्चस्तरीय आयोगमा उपस्थित भएका उनले बयानका क्रममा भनेका छन्, “भीडभाड र हुलदंगा बीचमा कारागारकै सुरक्षाकर्मी र कर्मचारीले मलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएका थिए।”

लामिछानेले थपे, कारागारबाट बाहिर निस्कने बेलासम्म पत्रबारे आफू अनभिज्ञ रहेको र पछि मात्र त्यसबारे थाहा पाएको बताए।

स्रोतका अनुसार उनले आयोगमा दिएको बयानमा भनेका छन्, “कारागार प्रशासनले नै मलाई परिवार र नेताहरूको जिम्मा लगाएर छाडेको हो। म निस्कने बेलामा जेलरलाई भेटेको पनि छैन, त्यसैले अरु केही थाहा थिएन।”

यसअघि आयोगले नख्खु कारागारका जेलरसँग पनि सोधपुछ गरेको थियो। सो क्रममा उनले ‘आदेश आएपछि पत्र तयार गरेको’ बताएका थिए। तर, आदेश दिने व्यक्ति वा निकायबारे भने खुलाएका थिएनन्।

गत भदौ २४ गते, जेनजी आन्दोलनको भोलिपल्ट, रास्वपा कार्यकर्ताहरू नख्खु कारागार पुगेर सभापति लामिछानेलाई बाहिर निकालेका थिए। त्यही क्रममा जेल प्रशासनले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस