२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

बसपार्क घटनामा चकित पार्ने ट्विस्ट : १० दिनसम्म आयुषामाथि के भयो भन्ने रहस्य बाहिरियो !

काठमाडौं । बालाजुमा शनिबार मृत भेटिएकी माया भनिने आयुषा मगरको १० दिन अगाडि नै हत्या गरेर सडकछेउमा फालिएको खुलेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका सूर्य थापा मगरले २६ कात्तिकको राति नै हत्या गरी तत्कालै शव व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएका छन् ।

टोखा–९ नयाँ बसपार्क नजिकै फालेको शव १० दिनसम्म फोहरको थुप्रो भनेर कसैले पनि ध्यान दिएन । बन्चरेडाँडामा फोहर पठाउन अवरोध हुँदा सडकमा थुप्रिएको फोहर सम्झेर स्थानीयले त्यसलाई छुँदै छुँदैनथे । शनिबार सरसफाइका क्रममा तन्नाले बेरिएको शरीर भारी लागेपछि खोल्दा मात्रै शव भेटिएको हो ।

प्रहरीले सुरुवातीमा तेस्रोलिंगी महिलाको हत्या भएको अनुमान गरे पनि पछि ती युवती माया मगरको रूपमा चिनिने आयुषा रहेको पुष्टि भयो । हत्या भने पाँच सय रुपैयाँकै विवादबाट भएको प्रहरीले जनाएको छ । ब्राउन सुगर किन्न भनेर सापटी लगेको ५ सय फिर्ता दिन आयुषाले नमानेपछि सूर्यले जुत्ताको तुनाले घाँटी कसेर हत्या गरेको स्वीकारेका छन् ।

सीसीटीभीमा राति १:५२ बजे तन्नामा बेरेको शव होटलबाट निकालिएको देखिएको प्रहरीले बतायो । आयुषाको परिवारले समेत सनाखत गरिसकेको छ । घटना अहिले विस्तृत अनुसन्धानमा छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस