लन्डन । बेलायतका लन्डन एजेवयरमा बसोबास गर्ने नेपाली विद्यार्थी योमन चन्द (२६) असामयिक रूपमा निधन भएका छन्। उनी एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका थिए।
सल्यानको भल्चौर ७ का चन्द युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययन गर्दै थिए। अध्ययन पूरा गरी भोलिपल्ट प्रमाणपत्र लिन बाँकी थियो।
साथी मनोज कुँवरका अनुसार, सोमबार बिहान ९ बजे चन्दले हल्का बिरामी भएको र टाउको दुखेको बताए। दिउँसो साथीहरूसँग सेन्ट्रल लन्डन गएर खाना खाए। राति उनी सामान्य रूपमा घर फर्किएर १२ बजेतिर खाना खाए र १:३० बजे एउटै कोठामा सुत्यो।
मंगलबार बिहान उठ्दा चन्द उठेका थिएनन्। साथी कुँवरले शरीर चिसो भएको महसुस गरेपछि ७:५३ मा तुरुन्त एम्बुलेन्सलाई खबर गरे। स्वास्थ्यकर्मीले जाँच गर्दा सुगर लेभल २ मात्र देखियो र बिहान ९:३० बजे मृत घोषणा भयो।
पुलिस र मेडिकल टिमले प्रारम्भिक रूपमा ‘नेचुरल डेथ’ भनेको छ। शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भैरहेको छ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र साथीहरूसँग सल्लाह गरी अन्त्येष्टीको व्यवस्थाका साथै आर्थिक र नैतिक सहयोगका साथै समुदायमा जनचेतना बढाउने योजना रहेको बताए।
पुडासैनीले भने, “नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरूले बसाइँ, जागिर, मानसिक स्वास्थ्य र सुरक्षा सम्बन्धी चुनौती भोगिरहेका छन्। यसबारे जनचेतना जगाउन समुदायले थप सक्रिय हुनुपर्छ।”

