काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेहबाट पीडित रहेका शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो समय पिसाब संक्रमणले स्वस्थ्यमाथि थप असर पुगेपछि चिकित्सकले आज मध्याह्न १२ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए । निधनको खबर फैलिँदै गर्दा अन्तिम भेटका लागि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन् ।
दाहसंस्कारमा मेयर बालेन निकै भावविह्वल देखिन्थे । उनलाई पितृशोक परेको खबरपछि मन्त्री, शीर्ष नेता, कार्यकर्ता र समर्थकहरू ठूलो संख्यामा अस्पतालदेखि आर्यघाटसम्म उपस्थित भएका थिए । ऊर्जा तथा शहरी पूर्वाधारमन्त्री कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितका उच्च अधिकारीहरूले समेत आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरे ।

