२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

कुन टिम बन्ला एनपीएल सिजन २ को विजेता ?

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल दोस्रो संस्करणको उपाधिका लागि आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच आज दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।

साविक विजेता खेलबाट बाहिरिसकेकाले यस संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी दुवै उपाधि हात पार्ने दाउमा छन्। लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्वमा छ भने सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले लिएका छन् । रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधिनजिक पुगेको हो ।

रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो। लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो। तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण छ । जसले जित्यो, उसले च्याम्पियन बन्दै इतिहास रच्नेछ ।

रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताएका छन् । लायन्सका कप्तान पौडेलले पनि आफूहरू च्याम्पियन बन्नका लागि सबै पक्षबाट तयार रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस