काठमाडौं । विभिन्न पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी दर्ता भएको हो।
उजुरी पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक छन्।
यसैगरी, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका लालबिक्रम थापाविरुद्ध पनि उजुरी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीमाथि अध्ययन भइरहेको छ। कुन उम्मेदवारविरुद्ध के विषयमा उजुरी परेको हो भन्नेबारे आयोगले हालसम्म केही खुलाएको छैन।

