काठमाडौं । आइतबार सातै प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेश प्रदेशमा जसपा सम्मिलित गठबन्धनका १८ उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार कुल ९५.६८ प्रतिशत मतदान भएको थियो।
कोशी प्रदेशमा दलिततर्फ एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ गठबन्धनकी रोशनी मेचे निर्वाचित भए भने अन्य समूहमा कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
मधेश प्रदेशमा कांग्रेस–एमाले–जसपा गठबन्धनले चारै सिट जितेको छ। खुलातर्फ महन्थ ठाकुर, महिलातर्फ एमालेकी रेखा झा, दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान र अपाङ्ग/अल्पसंख्यकतर्फ कांग्रेसका रञ्जित कर्ण विजयी भए।
बागमती प्रदेशमा महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहमा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भए।
लुम्बिनी प्रदेशमा महिलातर्फ एमालेकी रामकुमारी झाँक्री, अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग/अल्पसंख्यकतर्फ बासुदेव घिमिरे विजयी भए।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा निर्वाचित हुँदा कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही र एमालेका मिनासिंह रखाल विजयी भए।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ एमालेकी लीला भण्डारी र अन्यतर्फ कांग्रेसका खम्मबहादुर खाती राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।




