काठमाण्डौँ । माघ लागेपछि सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (माघ २ गते) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको हो ।
हिजो (माघ १ गते) यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियोे। यद्यपि बिहान ८:४५ बजे बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस कायम भएको थियो । आज (शुक्रबार) को आधिकारिक न्यूनतम तापक्रम पनि उक्त समयमा पुन: मापन हुनेछ। त्यतिबेला बिहान ५:४५ बजेको सुरुवाती मापनको भन्दा काठमाडौँको न्यूनतम तापक्रम घट्ने सम्भावना हुन्छ । यसअघि पुस ३० गते (बुधबार) सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर २.३ डिग्री सेल्सियस कायम भएको थियो ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो । मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा बस्यो भने घट्छ ।

