काठमाडौँ । अमेरिकी सेनाले भेनेजुएलामा गरेको भीषण सैन्य आक्रमण र अपरेशन एब्सोल्युट रिजल्भु ले विश्व राजनीतिमा भूकम्प ल्याइदिएको छ । राजधानी काराकासमा गरिएको हवाई आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिकाको न्यूयोर्क पुर्याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही समय भेनेजुएलाको शासन प्रशासन अमेरिकाले नै चलाउने स्तब्धकारी घोषणा गरेका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकी एयरस्ट्राइकमा परी कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएला सरकारका एक अधिकारीले पुष्टि गरेका छन् । जनवरी ३ मा सुरु भएको यस अपरेसनमा अमेरिकाले भेनेजुएलाको एयर डिफेन्स सिस्टम ध्वस्त पार्न १५० भन्दा बढी सैन्य विमानहरू परिचालन गरेको थियो । स्थानीय समय अनुसार राति २ बजे अमेरिकी विशेष दस्ता हेलिकप्टरमार्फत मादुरोको निवासमा उत्रिएका थिए। करिब २ घण्टा २० मिनेट चलेको यस कारबाहीमा मादुरोलाई हिरासतमा लिइएको थियो ।
हिरासतमा लिइएका राष्ट्रपति मादुरोलाई बोकेको विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण भएको छ। दर्जनौँ फेडरल एजेन्टहरूको कडा सुरक्षा घेराबीच मादुरोलाई विमानबाट ओरालिएको थियो। यसअघि राष्ट्रपति ट्रम्पले मादुरोको एउटा तस्बिर सार्वजनिक गरेका थिए, जसमा उनलाई आँखामा पट्टी र हातमा हतकडी लगाएर अमेरिकी युद्धपोतमा राखिएको देखाइएको थियो। मादुरोले अब अमेरिकामा आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ।
राष्ट्रपति ट्रम्पले राति गरिएको सफल आक्रमणपछि मादुरोको शासन अन्त्य भएको दाबी गर्दै भनेका छन्, तत्कालका लागि भेनेजुएला अब अमेरिकाले चलाउनेछ। यद्यपि, यस सैन्य हस्तक्षेपको ल्याटिन अमेरिका, युरोप, रुस र चीन लगायतका देशहरूले कडा निन्दा गरेका छन्। उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै तनाव कम गर्न अपील गरेका छन्।
यो कारबाही यस्तो समयमा भएको छ, जब अमेरिकाले भेनेजुएलामाथि लागुऔषध तस्करीको आरोप लगाउँदै दबाब बढाइरहेको थियो। केही दिन अघि मात्रै अमेरिकाले लागुऔषध तस्करीमा संलग्न रहेको भन्दै भेनेजुएलाका केही डुङ्गाहरूलाई निशाना बनाएको थियो।

