२०८२ फाल्गुन ११ गते सोमवार | 2026 February 23rd Monday

धादिङ-१ मा नेकपाका राजेन्द्र पाण्डेको पक्षमा बढ्दो जनलहर, बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन

धादिङ । धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेको पक्षमा बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन देखिएको छ । चुनावी अभियान तीव्र बनाउँदै घरदैलोमा पुगेका राईलाई मतदाताले उत्साहपूर्वक स्वागत गरिरहेका छन् भने उनको एजेन्डा सुन्न सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता सार्वजनिक गर्दै पाण्डेले ‘सुशासन, रोजगारी, समाजवादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका छन् । सो नाराभित्र योजनाले मतदातामा आशा जगाएको स्थानीयको भनाइ छ । उत्पादनमुखी कृषि, घरेलु तथा साना उद्योगमार्फत वार्षिक रोजगारी सृजना, वैज्ञानिक तथा वस्तुवादी शिक्षामार्फत समाजवादको आधार निर्माण र निःशुल्क स्वास्थ्य सेवाको प्रत्याभूति जस्ता कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् ।

आफुले सुरु गरेका अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्‍याएका छन्। वडावडामा कच्ची सडकलाई पक्की बनाउने, अलपत्र अवस्थामा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने तथा स्थानीय पूर्वाधार विकासलाई गति दिने उनको योजना छ।

भौतिक पूर्वाधार मन्त्रालय र शहरी विकास मन्त्रालयको तर्फबाट ६ वटै पालीकाहरुमा निर्माण शुरु गरीएका सडकहरु ३ वर्ष भित्रमा सम्पन्न गर्ने प्रतिबद्धताले पनि मतदातालाई आकर्षित गरेको छ। स्थानीय स्तरमा भित्री सडक सञ्जाल विस्तार, पुल–पुलेसा तथा नाला–कल्भर्ट निर्माण, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई पक्की भवनसहित दक्ष जनशक्तियुक्त बनाउने कार्यक्रमलाई उनले प्राथमिकता दिएका छन्।
गजुरी गाउँपालिका वडा नं. ६ बाट शुरु भएको घरदैलो कार्यक्रम अहिले विभिन्न पालिकाका विभिन्न वडासम्म पुगेको छ। प्रत्येक स्थानमा मतदाताको उल्लेख्य सहभागिता देखिएको नेकपा स्थानीय नेताहरूले बताएका छन्। मतदाताहरुले अन्य उम्मेदवारको तुलनामा पाण्डेको एजेन्डा स्पष्ट र कार्यान्वयनयोग्य भएको बताएका छन् । यस क्षेत्रका मतदाताहरूले पनि विकास, रोजगारी र सुशासनका विषयमा पाण्डेले अघि सारेका योजना आफूहरूलाई विश्वसनीय लागेको प्रतिक्रिया दिएका छन्।

स्थानीय स्तरमा धादिङ १ लाई कृषि तथा औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने, सिँचाइ विस्तार गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्वास्थ्य–शिक्षा पूर्वाधार मजबुत बनाउने योजना अघि सारिएकाले मतदाताको समर्थन दिनप्रतिदिन बढ्दै गएको नेकपा स्थानीय नेताहरुले बताए।
गाउँ–टोलमा आयोजित भेटघाट तथा कोणसभामा मतदाताले खुलेर आफ्ना समस्या राख्ने र समाधानका विषयमा प्रत्यक्ष संवाद हुने वातावरण बनेको छ। यही सक्रियता र स्पष्ट विकास दृष्टिकोणका कारण राजेन्द्र पाण्डेको पक्षमा धादिङ १ मा जनलहर सिर्जना भएको स्थानीयको भनाइ छ।
निर्वाचन नजिकिँदै जाँदा बस्ती–टोल र गाउँगाउँबाट जुटिरहेको समर्थनले राजेन्द्र पाण्डेलाई बलियो दावेदारका रूपमा स्थापित गरेको छ। लोकतन्त्रको रक्षा, सुशासनको प्रत्याभूति र समाजवाद उन्मुख विकासको एजेन्डासहित अघि बढिरहेका पाण्डेको अभियानले धादिङ १ मा व्यापक जनसमर्थन पाएको देखिन्छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस