सुनसरी । नेपाल मुस्लीम इत्तेहाद संगठन क्षेत्रीय समितीको पहलमा दुहवी नगरपालिका वडा नं.–१२ बुकडहरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी मुस्लीम समुदायका ७२ जना व्यक्तिहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई सुनसरी निर्वाचन क्षेत्र नं.–३ का लागि एमाले उम्मेदवार भगबती चौधरी ले खादा तथा अबिर लगाएर स्वागत गरेका गर्नुभयो। स्वागत मन्तव्यका क्रममा चौधरीले सबै समुदायको सम्मान, सहभागिता र अधिकार सुनिश्चित गर्दै विकासको अभियान अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उँहाले भन्नुभयो , “एमाले कुनै एक वर्ग वा समुदायको मात्र पार्टी होइन, यो सबै नेपालीको साझा शक्ति हो। मुस्लीम समुदायका दाजुभाइ–दिदीबहिनीहरूको आजको सहभागिताले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउनेछ। सुनसरी क्षेत्र नं.–३ को समग्र विकास, शिक्षा, रोजगारी र पूर्वाधार विस्तारमा म सधैं प्रतिबद्ध छु।”

नेपाल मुस्लीम इत्तेहाद संगठनका प्रतिनिधिहरूले समुदायको हक–हित, शिक्षा र विकासका सवालमा एमालेले सकारात्मक भूमिका खेलेको भन्दै सामूहिक रूपमा पार्टी प्रवेश गर्ने निर्णय गरिएको बताएका थिए। नवप्रवेशीहरूले पनि आगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्दै एमाले उम्मेदवारलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
बर्जु–२ मा ४० जना जेन–जी युवाहरू एमालेमा प्रवेश
बर्जु गाउँपालिका वडा नं.–२ स्थित रामजानकी सामुदायिक भवनमा आयोजित कार्यक्रममार्फत ४० जना जेन–जी (युवा) विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

नवप्रवेशी युवाहरूलाई सुनसरी निर्वाचन क्षेत्र नं.–३ का लागि एमाले उम्मेदवार भगबती चौधरी ले खादा तथा अबिर लगाएर स्वागत गरिन्। स्वागत मन्तव्यका क्रममा चौधरीले युवाशक्ति देश निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताले समृद्धिको अभियानलाई गति दिने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “आजको युवा पुस्ता परिवर्तनको संवाहक हो। तपाईंहरूको उत्साह, ऊर्जा र सोचले समाज रूपान्तरण सम्भव छ। सुनसरी क्षेत्र नं.–३ लाई विकास, रोजगारी सिर्जना र अवसरको केन्द्र बनाउन म युवासँगै हातेमालो गरेर अघि बढ्नेछु।”
कार्यक्रममा बोल्ने युवाहरूले देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि एमाले नै उपयुक्त शक्ति भएको भन्दै संगठित रूपमा पार्टी प्रवेश गरेको बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टी र उम्मेदवारलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

