काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनको मुखमा काठमाडौं– ५ मा धक्का लाग्ने भएको छ । रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले केही दिनअघि र आज १४ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि काठमाडौं- ५ मा रास्वपालाई त्यस्तो परिस्थिति सिर्जना भएको हो ।
बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै आज रास्वपाका काठमाडौं- ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका थिए । उनीहरूले राजीनामापत्रमा प्रतिनिधिसभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामापत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुदनध्वज खड्का, बूढानीलकण्ठ नगरपालिका- ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, वडा नम्बर ३ की जया श्रेष्ठ, वडा नम्बर ४ का सदस्यहरू समिप घले र कवि थापामगर छन् । यसैगरी, वडा पदाधिकारीहरू बूढानीलकण्ठ नगरपालिका- ७ की प्रतिभा सेढाईं, वडा सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जीवी अधिकारी, लेखा सदस्य सिर्जना बस्नेत र शोभा सुवेदी, सदस्यहरू वडा नम्बर ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् । उनीहरू रास्वपाका पूर्वउम्मेदवार प्रणय राणानिकट मानिन्छन् । राणा हालै मात्र कांग्रेसमा प्रवेश गरेका थिए । यसले निर्वाचनको मुखमा रास्वपालाई धक्का लाग्ने देखिएको हो ।

